गएको पुष १ गते जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका बेला भएको घटनाबारे गृहमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार बसेको व्यवस्थापिका संसदका बैठकमा जवाफ दिएका छन् ।
अघिल्लो बैठकमा संसदलाई उक्त घटनाबारे जानकारी गराउन सभामुख ओनसरी घर्तीले रुलिङ गरेपछि आइतबारको बैठकमा गृहमन्त्री बस्नतले जवाफ दिएका हुन् । उनले जवाफ दिने क्रममा पुस १ गते जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारीको उपस्थितिको कार्यक्रम अनुसार अञ्चल प्रहरी कार्यलयमा हेलिकप्टरबाट राष्ट्रपति मन्दिरसम्म जाने व्यवस्था मिलाइएको बताए ।
सोही अनुसार राष्ट्रपति भण्डारी मन्दिरमा पुगी १५ मिनेटको पूजा सकेर पुनः प्रहरी कार्यालयमा फर्किएको भन्दै उनले राष्ट्रपति फर्किएपछि मुख्य सुरक्षा घेराभन्दा बाहिर रहेका केही मानिसहरुले आफ्ना गतिविधिहरु गरेको दावी गरे ।
राष्ट्रपति पूजा गरी फर्केपछि दर्शनार्थीहरु मन्दिर प्रवेश गर्ने क्रम सुरु भएसँगै केही अवान्छित व्यक्तिहरुले विवाह मण्डप जलाउन पेट्रोल बम हान्ने र तोडफोड गर्ने कार्य गरे। यद्यपी उनले सो क्रममा दर्शनार्थीहरुको व्यवस्थापनका लागि सुरक्षा प्रदान गरिएको बताए । पेट्रोल बम हान्ने र तोडफोड जस्ता अराजक गतिविधि हुन थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले केही लाठि चार्ज र अश्रुग्याँस प्रहार गरेको भन्दै गृहमन्त्री बस्नेतले राष्ट्रपति राजधानी फर्किए लगत्तै त्यहाँका पूजारी र महन्थमाथि किन राष्ट्रपतिलाई बोलाएको भनि उनीहरुमाथि हातपात भएको जानकारी दिए ।
त्यसपछि भोलिपल्ट सामाजिक संजालमार्फत लैंगिक हिंसा र सामाजिक हिंसा भडकाउने खालका गतिविधिहरु भएको भन्दै उनले भोलिपल्ट मन्दिर सरसफाइ गर्ने कार्य नियमित भएपनि केही प्रदर्शनकारीहरुले त्यहाँको साम्प्रदायिक आस्थामाथि अपमान गर्ने काम भएको र यसको सरकारले खेद प्रकट गरेको बताए ।
उक्त तोडफोड र अवान्छित गतिविधिको छानविन गरी केही दिनभित्र प्रतिबेदन आउने आश्वासन दिएका उनले ११ पुरूष ४ महिला नियन्त्रणमा लिइ चार जनालाई सार्वजनिक ऐन अनुसार कारबाही अघि बढाइएको बताए । विगत चार महिनादेखि विरोध र आन्दोलनको कार्य हुँदै आएको र सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्न खोजिरहेको भन्दै उनले सम्वाद र सहमतिबाट समस्या समाधानका लागि सबैमा आग्रह गरे ।
यसैबीच विराटनगरमा शनिबार भएको झडपमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चामा आवद्ध सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । मोर्चाको नाराबाजीका बीच चलिरहेको बैठकमा गृहमन्त्री शक्ति बस्नेतले जनकपुर घटनाबारे जवाफ दिएका हुन् ।
0 comments:
Post a Comment