बृत्तचित्रमा माओवादी युद्ध

Advertisement

विद्रोही माओवादी र राज्यपक्षबीच भएको हिंसात्मक लडाइँले एक दसक नाघिसकेको छ। हिंसात्मक युद्ध रोकिए पनि युद्धको असर नेपाली समाजमा यत्रतत्र भेटिन्छ। माओवादी युद्धसित सम्बन्धित वृत्तचित्र नओभाएका आँखा अर्थात् टियर्स अफ वार लिएर अमेरिका आएँ।आएको पाँच बर्ष बित्यो।
युद्ध चलिरहँदा यस विषय पर्दामा उतार्न सुरक्षाको हिसाबले निकै गाह्रो थियो। बरु विदेशी पत्रकारले केही भिडियो बनाउने र रिपोर्टिङ गर्ने मौका पाए। माओवादी युद्धभूमि रुकुममा जन्मेकाले माओवादी गतिविधि नजिकबाट बुझ्ने मौका पाएँ।युद्ध उत्कर्षमा पुग्दैथियो। दिनहुँ अखवार रगतको आहालमा डुबेका नेपालीका लासहरुले भरिएका हुन्थे। युद्धअघि रुकुम, रोल्पाका नाम काठमाडौँवासीलाई थाहा हुँदैनथ्यो। युद्धका घाउले रुकुम र रोल्पा चर्चाको शिखरमा पुगे।
आरआर क्याम्पसमा पत्रकारिता विषय अन्तर्गतको प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा दिएर म रुकुम लागेँ, काठमाडौबाट प्रकाशित हिमालय टाइम्स दैनिकमा रुकुम सम्वाददाता बनेर।
समाचार लेख्ने राम्रो ज्ञान नभइसके पनि नजिकबाट देखेको युद्धको प्रचार र अझ नजिकबाट देखेका हत्या घटनाले पत्रकारितामा लाग्ने परिस्थिति बन्दैगयो।
माओवादीले रोल्पाको रातामाटामा रहेको दूरसन्चार टावर हानेपछि सञ्चार सम्पर्कविच्छेद भयो। स्थानीय सबै पत्रकार साथीहरूको कलमकारितामा केही अप्ठेरो भयो।
यै निहुँमा काठमाडौँ हानिएँ।
काठमाडौँ आएपछि युद्धको विषयमा आफूले देखेका थुप्रै दृश्यबारे लेख्ने र बोल्ने काम गरिरहेको थिएँ। यसैक्रममा युद्धको यथार्थ चित्रण गर्ने भिडियो बनाउने कार्यमा लागेँ। नेपाल टेलिभिजनका लागि आफूले बनाएको टिभी कार्यक्रम खोजले भिडियो रिपोर्टिङबारे केही सिकाएको थियो। युद्धका घाउ खोज्दै प्रभावित गाउँहरु घुमियो।युद्ध रोकियो।त्यसपछि भिडियो वृत्तचित्र निर्माणतिर लाग्न परिस्थिति बन्यो। भिडियोको लागि विभिन्न मान्छेलाई भेट्न थालेँ। यसैक्रममा माओवादी युद्धका प्रत्यक्ष साक्षी मणि थापा, मुमाराम खनाल र रवीन्द्र श्रेष्ठलाई भेटेँ। केही समयपछि सानो टीम बनाएर निर्माण कार्य अघि बढ्यो। अरुणदेव जोशी, महानन्द तिमिल्सिना र म निर्देशन टीममा बसेर युद्धका घाउ पछ्याउदै युद्ध प्रभावित जिल्ला तथा गाउँमा घुम्न थाल्यौँ।
रोल्पाको थबाङदेखि रुकुम, डोल्पा, गोर्खा, चितवन माडी, लम्जुङ, दोरम्बालगायतका ठाउँलाई आधार मानेर युद्ध घटना सङ्कलन गरियो। भिडियो तयार पार्न दुई बर्ष लाग्यो। कति भिडियो संकलन गर्न संभव भएन। तर त्यतिबेलादेखि थालेको युद्धको तस्बिरलाई उतार्ने प्रयास भए।
वृत्तचित्रमा २०६२, ६३ सहितको आन्दोलन र प्रचण्ड प्रधानमन्त्री भएसम्मको परिस्थितिलाई समेटियो। प्रिमियर गरियो, भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा। युरोपका जर्मनी, स्पेन, बेल्जियम र फ्रान्समा वृत्तचित्रलाई प्रर्दशन गर्ने योजनातर्फ लागेँ। अमेरिकास्थित न्युयोर्क इन्टरनेशनल फिल्म फेष्टिभलमा प्रदर्शनको लागि वृत्तचित्र छानियो। वृत्तचित्र प्रर्दशनीको लागि अमेरिका हानिएँ। विश्वभरका २०० फिल्मबाट छानिएर प्रर्दशनी भएको आफ्नो वृत्तचित्रले बेष्ट पोलिटिकल डकुमेन्ट्री अवार्ड हात पार्‍यो।
अन्तर्राष्ट्रिय समुदायलाई वृत्तचित्रमार्फत् नेपालको युद्ध सन्देस दिइसकेपछि अमेरिकामा वेष्टकोष्टदेखि इष्टकोष्टसम्म बस्ने नेपालीमाझ सन्देस बाँड्दै हिँडेँ। अहिले म अमेरिकामा छु। पत्रकारिता त्याग्न सकेको छैन।
युद्धको घाउ पुरिदैछ होला भन्ने आशामा छु। तैपनि माओवादी युद्धले अरु आकार लिएको देख्छु। र, झस्किन्छु। मैले देखेको माओवादी युद्ध रोकिएपछि पनि वागमतीमा पानी बगिसकेको होला, जसलाई न्युयोर्कमा बसेर हड्सन रिभरमा बगिरहेको पानीबाट महसुस गरिरहेछु।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment