१२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलको उपाधिका लागि नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली फुटबलको हरेक स्पर्धामा तगारो बन्दै आएको भारतलाई यस पटक जितेर छाड्ने नेपालका प्रशिक्षक राजुकाजी शाक्यले बताए ।
‘हाम्रो योजना भारतलाई हराएर स्वर्ण जित्नु हो । सेमिफाइनलमा माल्दिभ्सलाई हराए पनि टोलीका सबै खेलाडीको मनोबल उच्च रहेको छ । नेपाली खेलाडीले जस्तोसुकै कठिन अवस्थामा पनि राम्रो खेल्न सक्छन् भन्ने उदाहरण यही सागमा देखिएको छु, प्रशिक्षक शाक्यले भने । यद्यपि उनले भारत कठिन प्रतिद्वन्द्वी भएको स्वीकार गरे । ‘भारत बलियो टोली हो । घरेलु मैदानको समर्थन उसलाई मिल्छ । तर हामी गोर्खाली पनि कम छैनौुं शाक्यले भने ।
टोलीका कप्तान विराज महर्जनले नेपाली फुटबलमा नयाँ बहार ल्याउन आफूहरू आतुर रहेको बताए । ‘फुटबलमा विरलै देखिने नेपाल र माल्दिभ्सबीचको भिडन्तले हामीलाई थप उत्साहित बनाएको छ । भारतलाई हराएर नेपाली फुटबलमा नयाँ आयाम थप्न सबै खेलाडी एक ढिक्का भएर खेल्नेछौं, महर्जनले भने ।
कप्तान महर्जनले भनेजस्तै भारतलाई हराउन सके त्यसले नेपाली फुटबललाई धेरै अर्थ राख्नेछ । नेपालले साग फुटबलमा अन्तिम पटक सन् १९९३ मा उपाधि जितेको थियो । नेपालले १७ वर्षपछि यस पटक साग फुटबलमा फाइनलयात्रा तय गरेको हो । उमेरस्तरको होस् या सिनियर जुनसुकै अन्तर्राष्ट्रिय फुटबलमा पनि नेपालसामु भारत लगातार तगारो बन्दै आएको छ । भारतलाई उसैको मैदानमा हराउनु पनि नेपालका लागि अवसर र चुनौती दुवै छ ।
नेपाल साग फुटबलमा हालसम्म पाँच पटक फाइनल पुगेको छ जसमध्ये दुई पटक नेपाल र भारत भिडेकामा दुवैले एकएक पटक सफलता हात पारेका थिए । सन् १९८४ मा आयोजित पहिलो सागमा फुटबलको स्वर्ण पदक जितेको नेपाल त्यसको तीन वर्षपछि भारतमै आयोजित संस्करणमा फुटबलको फाइनलमा घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले अन्तिम पटक स्वर्ण पदक जित्दा भने भारतलाई नै फाइनलमा हराएको थियो ।
नेपाल पछिल्लो समय उत्कृष्ट फुटबल खेलिरहेको छ । नेपालले गत महिनामात्र ढाकामा बंगबन्धु गोल्डकपको उपाधि जितेर २३ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय फुटबल उपाधिको खडेरी टारेको थियो । त्यसअघि यसै वर्ष आयोजित साफ यू–१९ च्याम्पियनसिपमा नेपालले फाइनलमा भारतलाई नै हराएर उपाधि जितेको थियो ।
साग फुटबलमा सन् १९९९ सम्म सिनियर टोली सहभागी हुँदै आएकोमा त्यसयता यू–२३ राष्ट्रिय टोली सहभागी हुने प्रावधान राखिएको थियो । साग फुटबलमा नेपाल र भारत अन्तिम पटक सन् २००६ को संस्करणमा भिडेका थिए जसमा समूहगत चरणमा यी दुई टोलीबीच १–१ गोलको बराबरी भएको थियो ।
जारी संस्करणमा सहजै सेमिफाइनल पुगेको नेपालले शनिबार भएको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ४–३ गोलको सनसनीपूर्ण जित हात पार्दै फाइनल यात्रा तय गरेको हो । उक्त खेलमा नेपालले अन्तिम तीन मिनेटमा दुई गोल गरेको थियो भने स्ट्राइकर नवयुग श्रेष्ठ ह्याट्रिक गर्न सफल भएका थिए । नेपालले समूहगत चरणको पहिलो खेलमा भुटानलाई ५–० गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो ।
माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुग श्रेष्ठले भारतविरुद्ध अझ बेजोड खेल खेल्ने दाबी गरे । भारतका लागि भने सेमिफाइनल यात्रा नै कठिन रह्यो । समूहगत चरणमा तीनवटै टोलीले समान तीन अंक जोडेपछि भारत गोलअन्तरमा उपविजेता बनेको थियो । पहिलो खेलमै श्रीलंकासँग १–० गोलले पराजित भएको भारत दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ३–२ गोलको जित हात पार्दै सेमिफाइनल पुग्न सफल भएको थियो । भारतले सेमिफाइनलमा बंगलादेशलाई ३–० गोलले हराएको थियो ।
नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य सागमा नेपालले अन्तिम पटक स्वर्ण पदक जित्दा टोलीका कप्तान थिए । यतिबेला शाक्य प्रशिक्षकका रूपमा सागमा स्वर्ण पदक जित्ने प्रयासमा छन् । सोमबारको खेलमा सफलता हात पार्न सके शाक्यका लागि त्यो ठूलो उपलब्धि हुनेछ ।
उनले मुख्य प्रशिक्षकको रूपमा आफूले साग फुटबलको उपाधि दिलाउन पाए नेपाल र आफ्नाका लागि त्योभन्दा ठूलो उपहार अरू केही नहुने बताएका छन् । यसअघि गत महिना नेपालले बंगबन्धु गोल्डकपको उपाधि जित्दा टोलीको प्रशिक्षक बालगोपाल महर्जन थिए ।
त्यसअघि नेपालले अन्तिम पटक सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्दा बालगोपाल पनि टोलीमा थिए । शाक्य नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा लामो समय प्रतिनिधित्व गर्ने फुटबलरसमेत रहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ
0 comments:
Post a Comment