


मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुकुम पुगेका पुनले आपूर्ति सहज गराउन विभिन्न तबरबाट प्रयास जारी राखेको बताए।
नेपालको संविधानमा भएका व्यवस्था तराईका जनताले राम्रोसँग अध्ययन गरे मधेस आन्दोलन आफैँ अन्त्य हुने उनको भनाइ छ।
आपूर्तिमन्त्री पुनले भारतको अघोषित नाकाबन्दीका कारण भएको इन्धनलगायतका अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा वितरण व्यवस्था छिट्टै पुरानो अवस्थामा फर्कने दाबी गरे।
संविधान संशोधन प्रक्रिया अगाडि बढी आन्दोलनरत मोर्चासँग भएका वार्ता सकारात्मक हुन गई आन्दोलन सामान्यीकरणतर्फ गएपछि भारतबाट हुने आपूर्ति पनि सहज बन्दै गएको उनले बताए।
उनले तेस्रो मुलुकबाट नेपालमा इन्धनलगायतका अत्यावश्यक वस्तु ल्याउने बाटो खुलेसँगै भारतको मात्र भरमा बस्नुपर्ने बाध्यता हटेको बताए।
मन्त्री पुनले चीनबाट पनि तेल ल्याउने कुरामा नीतिगत तथा व्यावहारिक छलफल तीव्र गतिमा अगाडि बढिरहेको र अबको एक साताभित्रै नेपालमा आपूर्ति सहज हुने बताए।
पुनले मधेसी मोर्चाको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीले देशमा ठूलो सङ्कट परेको बेला तेस्रो मुलुकबाट इन्धनलगायतका सामग्री नेपाल ल्याउन बाटो खुलाएको बताए।
मन्त्री पुनले जिल्ला तथा देशको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
रुकुमका सांसद मिठ्ठू मल्लले नयाँ सविधानले सबै नेपाली जनताको हकअधिकार समेटिएकाले कसैले पनि देश विकासको बेला आन्दोलन तथा नेपाली नेपालीबीचको सद्भाव भड्कने खालको कार्य नगर्न आग्रह गरेका छन्।



0 comments:
Post a Comment