


काठमाडौँ, १० माघ ।
प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २४ असोज र १६ पुसमा टेलिफोनमार्फत भ्रमणको निम्ता दिएका थिए । तर, ओली भ्रमणको मिति अझै तय भएको छैन । ओलीले फागुन पहिलो साता भारत भ्रमणमा जाने गरी एजेन्डा तयार गर्न मन्त्री र कर्मचारीलाई निर्देशन दिएको दुई साता बितिसकेको छ ।
२८ पुसमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा मन्त्री एवं सचिवहरूलाई बालुवाटार बोलाएर भारतसँग छलफलको एजेन्डा तयार गर्न निर्देशन दिएका थिए । परराष्ट्र मन्त्रालयले सरोकारवाला अर्थ, उद्योग, ऊर्जा, वाणिज्य, आपूर्ति, भौतिक पूर्वाधार तथा निर्माण, पर्यटन तथा नागरिक उड्डयन, रक्षा मन्त्रालयसँग समन्वय गरेर नेपाल–भारतबीचको पछिल्लो सम्झौताको समीक्षा गरिरहेको छ ।
‘प्रधानमन्त्रीले एजेन्डा तयारीका लागि सम्बद्ध मन्त्री र सचिवहरूलाई बोलाएर निर्देशन दिनुभएको छ, सरकारले तयारी गरिरहेको छ, भ्रमणको मिति तय हुन बाँकी छ,’ प्रधानमन्त्रीका विदेश मामिलाविज्ञ गोपाल खनालले भने, ‘संविधान संशोधन भएर नेपालमा आपूर्ति व्यवस्था सुचारु भएपछि भारतसँग आपसी छलफल गरेर भ्रमणको मिति टुंगो लगाउने तयारी भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले १६ पुसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा रक्सौल–वीरगन्ज नाका खुलाउन आग्रह गर्दै नाका खुले मात्र भ्रमण गर्न सहज हुने सन्देश दिएका थिए । ‘मधेसी मोर्चासँगको वार्ता एक चरण टुंगोमा पुग्ने, संविधान संशोधन हुने र वीरगन्ज–रक्सौल नाकामा सवारी आवागमन सुरु भएपछि प्रधानमन्त्री दिल्ली आउने मोटामोटी तयारी थियो, तर मधेसी मोर्चासँग कुराकानी नटुंगिएकाले अहिले नै यसै भन्न सकिने अवस्था छैन,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने ।
‘भारतको मुख्य चासो वैवाहिक अंगीकृत नागरिकता, निर्वाचन प्रणालीमा सुधार र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषय हो, संविधान संशोधनमार्फत यी चासो पूरा भएको अवस्थामा ओलीलाई स्वागत गर्न समस्या छैन,’ भारतको विदेश मन्त्रालयसम्बद्ध स्रोतले भन्यो, ‘तर, मधेसीसँग पूर्ण रूपमा सहमति नभएसम्म मोर्चाले वीरगन्ज नाका खुलाउने छाँटकाँट देखिन्न, त्यसैमा प्रधानमन्त्री ओलीले अडान लिने हो भने एक महिनामा भ्रमण सम्भव हुँदैन । तर, त्यस्तो नहोस् ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।- See more at



0 comments:
Post a Comment