प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को अडियो विमोचन समारोह रोचक देखियो । निर्धारित समय भन्दा करिब २ घन्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीले समय दिएका थिए ।
निर्देशक दिनेश डीसी, कलाकारद्धय नीता ढुंगाना र आमेष भण्डारी कार्यक्रममा उपस्थित थिए । चलचित्रको अडियो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले निर्देशक डीसीको आग्रहमा पत्नीलाई फूल दिए । उनले यो चलचित्रको १० वटा टिकट दिन डीसीलाई आग्रह गरे । उनले पैसा तिरेरै चलचित्रको १० वटा टिकट किन्ने पनि बताए ।
चलचित्रको पाइरेसी भएर निर्माता मरिरहेको समयमा प्रधानमन्त्रीले १० वटा टिकट काटेर हलमै गएर चलचित्र हेर्छु भन्नु आफैमा सुखद कुरा हो । उनले अन्य निर्माताका लागि पनि यसरी समय निकालिदिएको खण्डमा चलचित्र क्षेत्रमा अझै आशा जाग्ने पक्का थियो । उनले गोरखामा स्विट सिटी बनाउने र त्यसमा आकर्षक फिल्म सिटी पनि बनाउने योजना आफ्नो रहेको खुलाएका थिए । केही बर्षमै चलचित्रकर्मीले फिल्म सिटीमा आफ्नो काम गर्न पाउने उनको भनाई थियो ।
चलचित्रको शिर्ष गीतको भिडियो पनि कार्यक्रममा देखाइएको थियो । गीत हेरेपछि ओलीले प्रशंसा गरे । उनले रेडियोमा गीत बज्दा आफूले अरु गायक तथा गायिका नचिनेपनि पायल राई नै हुन् भन्ने लाग्ने बताएका थिए । प्रधानमन्त्रीको प्रशंसाले गायक राजेशपायल राइ मख्ख देखिएका थिए ।
कार्यक्रममा बोल्दै निर्देशक दिनेश डीसीले चलचित्रबाट आएको नाफाले धादिङमा पुल निर्माण गर्न आर्थिक सहयोग गर्ने बताए । उनले चलचित्रको व्यापार नाफामुलक नभएपनि पुल निर्माणका लागि चलचित्रको तर्फकाट साढे ७ लाख रुपैयाँ सहयोग गर्ने बताए । फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई लिएर अहिले दर्शकमा पनि उत्साह थपिएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/12/368221/#sthash.YFRYIgTx.dpuf
0 comments:
Post a Comment