१४ पुस, सिन्धुपाल्चोक । ठोकर्पा गाविस ३ जामुनेका सोमबहादुर पहरीले सोमबार बिहानमात्र १३ महिने छोरी राममाया पहरीको सदगद गरे । जस्ताको टहरोमा चिसोले कठ्याँगि्रएर आइतबार साँझ छोरी बितेपछि सोमबहादुर भावविह्वल छन् ।
आफ्नो मुटुको टुक्रालाई कुनै रोग नै नलागी चिसो थेग्न नसकेकै कारण गुमाउनुपर्दाको पीडा सोमबहादुर र उनको परिवारले भोगिरहेको छ ।
१८ वर्षकी विनिता पहरीले पनि मंसिर ९ गते साँझ आफ्नो पहिलो सन्ताका रुपमा जन्मेकी छोरी गुमाउनुपर्यो । तीन दिनअघि जन्मिएकी छोरी चिसोले कठ्यागि्रंएरै बितेको कुरा उनले सुनाइन । ‘साँझ पर्दै गएपछि जाडोले काम्न थालेकी छोरीले विस्तारै दूध चुस्न छोडी, हातखुट्टा कक्रिएपछि निली हुँदै गई,’ विनिताले भनिन, ‘जाडो भएको भन्दै आगोले सकेर तातो बनाउन सकिनँ ।’ जति सेक्दा पनि जिउ नतातेको र पछि बान्ता गर्न थालेपछि आफ्नै काखमा छोरीको प्राण गएको उनले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
जस्ताको टहरोमा पर्याप्त कपडा नभएकै कारण छोरीलाई गुमाउनु परेको विनिताको भनाइ छ । ‘शरीर ढाक्ने कपडा नभएपछि जस्ताको टहरोमा आउने चिसो हावा र शीत थेग्न आगोमात्र पर्याप्त नहुने रहेछ,’ विनिताले भनिन्, ‘आगोले सेकेरै छोरी बचाउन गरेको प्रयास बेकार भयो ।’
0 comments:
Post a Comment